news


यस्तो बन्नेछ नयाँ धरहरा (स्केचसहित)



स्केच सौजन्य: पुरातत्त्व विभाग




श्रावण १७, २०७३- –सरकारद्वारा ४२ रोपनी जग्गा प्रदान
–दुइतले पार्किङ, म्युजियम, थियटर, गार्डेन लगायत संरचना बनाइने
–पुनर्निर्माणमा ३ अरब लाग्ने अनुमान
–नेपाल टेलिकम लगायत संघ संस्था खर्च गर्न तयार
–तीन वर्ष भित्र बनाइसक्ने अनुमान
–पशुपतिपछि दोस्रो पर्यटकीय स्थल बनाइने
....





धराहरा बनाउन सरकारले ४२ रोपनी जग्गा प्रदान गरेको छ । पहिला धराहरा भएको ५ रोपनी जग्गामा मात्रै पुननिर्माण गर्दा राम्रो नहुने भन्दै पुरातत्व विभागले सरकारसँग जग्गा माग्दै आएको थियो ।



गौश्वारा हुलाक कार्यालय र टक्सार विभागको जग्गा धराहरा बनाउन दिने निर्णय मन्त्री परिषदको बैठकले गरेको संस्कृति ,पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोख्रेलले जानकारी दिए । टक्सार विभाग र गोश्वारा हुलाकलाई अन्त जग्गा उपलब्ध गराइदिने शर्तमा यो जग्गा दिन राजी भएको पोख्रेलले जानकारी दिए । जग्गा पाएपछि पुरातत्व विभागले पूरै क्षेत्रफलमा संरचना बनाउने गरि विस्तृत डिजाइन गरिरहको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । धरहरा पुरानै स्वरुपको तर सुविधाजनक हुनेछ ।



‘अब पुननिर्माण हुदा पहिलाको संरचनाको बारेमा विस्तृत अध्ययन हुन जरुरी हुन्न्छ,’ दाहाल भन्छन्, ‘अब बन्ने धरहराको पनि वैज्ञानिक संरचनागत अध्ययन अनुसन्धान गरिएन भने भविष्यमा फेरी प्रकोपमा पर्न सक्छ ।’



भुइँचालोले भत्काएको धरहरालाई चाहिं जस्ताको तस्तै राखेर त्यही स्वरुपको नयाँ बनाउने गरी डिजाइन भइरहेको छ । पहिला भत्केकोलाई सफा गरिनेछ । भत्केको ठाउँ रातो देखिएको छ । रातो ठाउलाई रंगरोगन गरेर संरक्षण गरिने छ । गोश्वारा हुलाक कार्यालयको आकाशे पुलबाटै धरहराको क्षेत्र शुरु हुनेछ । ‘यहाँ प्रवेशद्वार बन्नेछ,’ धरहराको विस्तृत डिजाइन गरिरहकेका इन्जिनियर विष्णु पन्थीले भने, ‘प्रवेशद्वारबाट सुन्धारा गार्डेन सुरु हुनेछ । गोश्वारा हुलाक कार्यलय देखि कर्मचारी सञ्चयकोष भवन छेउसम्मको क्षेत्रलाई सुन्धरा गार्डेनमा राखिनेछ ।’ धरहरा पुनर्निर्माणको लागि ड्रइङ डिजाइन तयार गर्न केज कन्सल्ट्यान्ट प्रालि र एशोसियटस् जेभीलाई पुरातत्वले जिम्मेवारी दिएको थियो । दुई महिना भित्र काम सक्ने गरी गत असार २६ गते उनीहरुलाई कामको जिम्मेवारी दिइएको थियो ।



परामर्शदाता इन्जिनियर पन्थीले तयार गथरेको डिजाइनमा गार्डेनको छेउमा तीन तले पार्किङ स्थल बन्ने छ । सुन्धरालाई धरहरा क्षेत्रभित्रै राखिने छ । सुन्धरलाई पुनर्निर्माण गरेर भऱ्याङ बनाइने छ । खुला यो भऱ्याङमा तीन सय जनासम्म हिंड्न सक्ने क्षमताको हुनेछ । यहाँ फोटो खिच्ने ठाउँ हुनेछ । यहाँ पानीको फाहोरा राखिने छ । यो फोहोरा हुँदै संग्रहालयमा जान सकिनेछ । धरहरामा भएका पुरातात्विक वस्तु, टक्सार विभागमा भएका सिक्का छाप्ने मेशिन लगायतका सामान संग्रहालयमा राख्न सकिनेछ । संग्रहालय दुई तलाको हुनेछ । यसबाहेक गिफ्ट सप, सानो थियटर लगायतका पूर्वाधार समेत बनाइने डिजाइनमा उल्लेख छ । ‘हामीले यस्तो डिजाइन गरेका छौं,’ पन्थीले भने, ‘ खै सरकारलेचाहिं कसरी बनाउँछ ।’ यसलाई अपांगमैत्री पनि बनाइने छ । अपांगलाई ध्यान दिएर दुइवटा लिफ्टको व्यवस्था समेत गरिने छ ।



अहिलेको जमिनको सतह भन्दा तलमाथि नगइकन धरहरा बनाइने छ । यसको उचाइ २ सय ४५ फिट हुनेछ । पहिलाको धरहराको उचाइ पनि यति नै हो । यहाँको माटोमा यति उचाइको बनाउन उपयुक्त छ कि छैन भनेर माटो परीक्षण पनि भइरहेको दाहालले जानकारी दिए । दैवि प्रकोपलाई ध्यान दिएर अव भन्ने धराहरासम्म उद्धार साम्रग्री पुग्न सक्ने व्यवस्था हुनेछ ।



नेपालका पहिलो प्रधानमन्त्री राष्ट्रिय विभूति भीमसेन थापाले बनाएका हुन् धरहरा । संस्कृतिविद् यज्ञमानपति बज्राचार्यका अनुसार भीमसेन थापाले धरहरा बनाएर पहिलोपल्ट पाश्च्यात्य शैलीको संरचना नेपाल भित्र्याएका थिए । भीमसेन थापाले आफ्नो निवास बागदरबार छेउमै विसं १८८१ सालमा धरहरा बनाएका थिए । भीमसेन थापाले यो धरहरा बनाएपछि रानी त्रिपुरा सुन्दरीले १८८२ मा अर्को धरहरा बनाउन लगाइन् । बज्राचार्यका अनुसार १९९० सालको भुइचालोले यी दुई मध्ये भीमसेन थापाले आफ्नो निवास छेउमा बनाएको धरहरा ढल्यो । अहिलेको धरहरामाचाहिं आंशिक क्षति मात्रै पुगेको थियो । ९० सालमा भुइचालो आउनु पहिला नै चट्याङ परेर धरहराको क्षति भइसकेको थियो । ११ तले धरहरालाई ९० सालको भुइचालो पछि १९९२ सालमा तत्कालिन प्रधानमन्त्री जुद्ध शमसेरले ९ तलामा झारेर पुननिर्माण गरेका थिए ।



धरहराको निर्माणमा चुनासुर्कीको जोडाइ र इटाको गाह्रो थियो । यसको डिजाइन मुगल कालिगढले गरेका थिए । सबभन्दा माथिल्लो भागमा गुम्वज बनाइ सुनको जलप लगाइएको धातुको गजुर थियो । यसको निर्माणमा मुस्लिम धर्मको प्रभाव परेको बज्राचार्य बताउँछन् । ‘के हिन्दु, के मुस्लिम, के इशाइ,’ पन्थि भन्छन्, ‘अब धरहरा सबैको भइसक्यो । यो राष्ट्रिय सम्पत्ति हो । अब बन्ने धरहरा पनि मुगल आर्टिटेक्टले गरेको डिजाइनकै आधारमा हुनेछ ।’



अब ८ रेक्टरसम्मको भुइचालोले भत्काउन नसक्ने गरी यसको पुननिर्माण गरिने मन्त्री पोख्रेलले दाबी गरे । कसले बनाउने भन्ने विवादले लामोसमय सम्म यसको निर्माणमा अन्योल भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नै यसको पुननिर्माणको जिम्मावारी पाएपछि कामले तिब्रता पाएको हो । यसको निर्माण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा, म बनाउँछु’ अभियान घोषणा गरेका थिए । यसको निर्माण गर्न ३ अर्ब रुपैया खर्च हुने अनुमान छ । मन्त्री पोख्रेलका अनुसार यो अभियानबाट २ करोड रुपैया संकलन भएको छ । ‘यो आह्वान गर्नासाथ उठेको रकम हो,’ पोख्रेल भन्छन्, ‘अब धराहरा यस्तो बन्दैछ भनेर नक्सा, डिजाइन सहित जनताबीचमा गएपछि पैसा झन् उठ्छ ।’ नीजी संघ संस्था लगायत नेपाल टेलिकम पनि धराहरा बनाउन इच्छुक भएको पोख्रेलले जानकारी दिए । ‘टेलिकमले ३ अरब नै खर्च गर्छु भनेको छ’ पोख्रेल भन्छन्, ‘जनताबाट कति उठ्छ, अनि नपुग रकम अरुसंग उठाउँने नीति बनेको छ । यो निती अव आउने सरकारले पनि परिवर्तन गर्न सक्दैन । अब धरहरा बन्छ ।’



राजधानीमा खुला ठाउँ मासिदै गएका छन् । निर्माण सम्पन्न भएपछि धरहरा क्षेत्र राजधानीको खुला क्षेत्र समेत थपिने छ । यसलाई पशुपतिनाथ पछि बढी पर्यटक जाने ठाउको रुपमा विकसित गर्न सकिने पन्थीले जानकारी दिए । ‘सुनको धारा विश्वमै रहेनछ, पन्थी भन्छन्, ‘यस्ता विषयको प्रचार गऱ्यौं भने पर्यटक आकर्षित गर्न सकिन्छ । यसलाई पर्यटक केन्द्रका रुपमा समेत विकास गर्न सकिनेछ ।’















प्रकाशित: श्रावण १७, २०७३



SHARE

About tom

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment